काठमाण्डौ– सरकारले अनुदान नदिएको भन्दै कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि काठमाण्डौमा धर्नामा बसेका छन् ।
२०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि काठमाण्डौको माइतीघर मण्डलामा आएर धर्नामा बस्नु परेको कपिलवस्तु उखु किसान सङ्घर्षसमितिका सदस्य रामलाल कलवारले बताउनु भयो ।
२०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर अनुदान रकम अहिलेसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा आफूहरु काठमाण्डौ आएको उनीहरुले बताएका छन् ।
अनुदानको रकमका लागि जिल्ला प्रशासन कार्यालयमा दबाब दिए पनि सुनुवाइ नभएपछि काठमाण्डौमा आएर धर्नामा बस्नु परेको सङ्घर्ष समितिका सदस्य रामलाल कलवारले बताउनुभयो । उहाँले आफूहरुलाई अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिनु भयो ।
उनीहरुले अन्य जिल्लालाई दिइएको अनुदानबापतको रकम आफूहरुलाई नदिएको भन्दै धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । सरकारले भने कुनै सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।