झापा- दुर्घटनाको जोखिम बढेको भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा मकै, धान, गहुँ लगायतका अन्न सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गर्नुभएको हो । सूचनामा भनिएको छ, कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले यस्तो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।ु
उहाँले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताउनुभयो । विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ ।
तस्बिरः गाउँपालिकाको फेसबुक पेज