काठमाण्डौ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
दशरथ रंगशालामा आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । एनआरटी २२ खेलमा २९ अङ्कका साथ आठौँ स्थानमा र समान खेलमा पुलिस ३१ अङ्कका साथ चौथो स्थानमा छ ।
रंगशालामा नै आज हुने दोस्रो खेलमा बेलुका ६ बजे मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार खेल्दैछन् । मनाङ २२ खेलमा २८ अङ्कसहित १० औँ स्थानमा छ । खुमलटार २२ खेलमा २४ अङ्क जोडेर पुछारमा छ ।
यस्तै च्यासल मैदानमा दिउँसो तीन बजे फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । फ्रेन्ड्स २२ खेलमा २४ अङ्क जोडेर १३ औँ स्थानमा र हिमालयन शेर्पा २९ अङ्कका साथ नवौँ स्थानमा छ।
१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.