काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।
यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन् । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।