काठमाडौँ- मिटरब्याजीको आरोपमा प्रहरीले ललितपुरबाट ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२६ घर भएर नखिपोट बस्दै आएका ४६ वर्षीय महर्जनले २०७५ बाट मिटर ब्याजमा लगानी गरेको आरोप छ । ललितपुर घर भएका ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख सापटी दिएर ‘वैदेशिक रोजागारी’ को कागज गराएर उनले १ करोड २६ लाख असुलेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
असार ८ मा पक्राउ गरेर ललितपुर प्रहरीले ज्ञानेन्द्रविरुद्ध अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने’ कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने ऐन अध्यादेशबाट आएको थियो । सो ऐन संसदबाट अनुमोदन भैसकेको छैन । मुलुकी अपराध संहिता–०७४ को दफा–२४९ लाई अध्यादेशमार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो । मिटरब्याज विरुद्ध राजधानीमा भएको लगातारको प्रदर्शनपछि सरकारले ल्याएको अध्यादेशअनुसार प्रहरीले पहिलोपटक मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको छ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा गठित जाँचबुझ आयोगसँग समेत समन्वय गरेर महर्जनविरुद्ध मुद्दा अघि बढाएको एसएसपी शाहले जानकारी दिए । ज्ञानेन्द्र महर्जन जग्गा कारोबारी पनि हुन् । ३० लाख सापटी दिएर १ करोड २४ लाख नगद लिएपछि उनले थप रकम मागेर पीडितलाई धम्क्याउने गरेको आरोप छ । पीडितले उनलाई बैंकिङ च्यानलबाट १ करोड २४ लाख बुझाएको भौचर प्रहरीकहाँ पेश गरेका छन् । तर, ‘बैदेशिक रोजगारी’ मा पठाउने कागज आफुसँग भएको भनेर ज्ञानेन्द्रले उनीसँग थप पैसा माग्न थालेपछि पीडित प्रहरीकहाँ पुगेका हुन् ।
आरोपितको घरबाट प्रहरीले रकम भरेका र खाली चेक ठुलो परिमाणमा बरामद गरेको छ । ज्ञानेन्द्रले आफुसँग मिटरब्याज लिएको भन्दै थप ३ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका छन् ।