चितवन- बिहीवार दिउँसोदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ । सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीवार दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान साढे ८ बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उहाँको भनाइ छ।
दुई वटा एक्स्काभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा बेलुकी ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।
सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका छन् । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ असार २०८०, शुक्रबार