अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ । सन् १९६० को दशकदेखि अमेरिकी विश्वविद्यालयमा हुने भर्नामा सकारात्मक पहलका आधारमा आरक्षण कायम रहँदै आएकोमा सर्वोच्च अदालतले खारेज गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी शिक्षा प्रणालीको सबैभन्दा विवादित बनेको यो विषयमाथिको एउटा मुद्दामा सर्वोच्चले फैसला गरेको हो । हार्वर्ड विश्वविद्यालय र युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको भर्नासम्बन्धी नियमविरुद्ध मुद्दा परेको हो । दुवै विश्वविद्यालयले अमेरिकाको संविधानमा उल्लिखित समान संरक्षणको प्रावधानलाई उल्लङ्घन गरेको अदालतले जनाएको छ । यी विश्वविद्यालयमा अमेरिकाको उच्च शिक्षामा अश्वेत, स्पेनीभाषी र अरू अल्पसङ्ख्यक विद्यार्थीको सहभागिता बढाउन आरक्षण लागू भएको थियो ।
बहुप्रतीक्षित फैसलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले असहमति जनाउनुभएको छ । उहाँले अमेरिकामा अहिले पनि विभेद रहेको भन्दै आफूहरू यो निर्णयलाई अन्तिम हुन नदिने बताउनुभयो । यस्तै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले भने यो निर्णय आएको दिनलाई ‘महान् दिन’ भनेर टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । अमेरिकाका नौ वटा राज्यले यसअघि नै जातीय आधारमा दिइएको भर्ना आरक्षण बन्द गरिसकेका छन् ।