मुग्लिन- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।
सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिबार राती पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक दुइतर्फी अवरुद्ध भएपछी सयौं यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोसँगै विजुलीको पोल पनि ढलेर तार पहिरोमा परेकाले पहिले तार हटाएर पहिरो पन्छाइने इलाका प्रहरीले जनाएको छ ।
सोही स्थानमा गत बिहीबार दिउँसोदेखि सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारी साधन आउजाउ गर्ने गर्दछन् । पूर्व र पश्चिमबाट काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ नै मानिन्छ । बर्खालागेसँगै पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।