२७ असार, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।
‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले भने । तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।
यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या २ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।