काठमाडौं- सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ।
यसअघि हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि विशेष कारण देखाउँदै आजलाई सारिएको हो। प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेट अर्थात् विनियोजन विधेयकमाथि छलफल सकिइसकेको छ।
छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्राप्त खर्च कटौतीको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
आजै बस्ने राष्ट्रियसभाको दोस्रो बैठकमा आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार आजै राष्ट्रियसभाको तेस्रो बैठक पनि बस्नेछ।
जसमा विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा सैद्धान्तिक विषयमा छलफल हुनेछ।