काठमाडौं- सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ ।
गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देश भारत र चीनसँग खुला सीमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौति भएको बताएको हो । सोमवार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाउनुभएको थियो ।
सो विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौति रहेको उल्लेख गरिएको छ । त्यस्तै सीमा पारी अपराध गरेर सीमा वारी आइ लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरुबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ । खुला सीमानाको फाइदा उठाउँदै अवैध रुपमा शरणार्थीहरुको प्रवेश र तेस्रो देशका नागरिकहरुको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ ।
सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ । नियमित रुपमा सीमावर्ती समकक्षीहरुसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख छ । त्यस्तै सीमा स्तम्भहरुको नियमित रुपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भइ सञ्चालनमा रहेको स्पष्ट पारिएको छ ।