काठमाडौँ- एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दै छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।
विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ । तर, एक वर्षपछि बैठक बस्न लागेको हो । कांग्रेसले आज बस्ने बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने जनाएको छ ।
त्यसैगरी साङ्गठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत हुने छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।
केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ ।
अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्य तालिका बनाइएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । तर, आजको बैठकमा संस्थापन पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेको छ ।