काठमाडौं- काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । आइतबार पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।
सीसीटीभी फुटेजमा देखिएमा एक जना संदिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको छ । ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान छ । तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ ।
हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान गरेका तर उनी हत्यामा संलग्न नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्ने व्यक्तिको नाम र घटनाको कारण भने खुलाएका छैनन् ।
दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो । कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन् । मिल भित्र खुकुरी र अर्को एक धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो ।
शुक्रबार राति ११:५५ बजे सो मिल भित्र ४ वटा शव फेला परेको थियो । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।