काठमाडौं । तिहार सकिएसँगै छट पर्वको तयारी सुरु भएको छ ।
विशेष गरी तराई मधेशमा मनाईने छट पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।
जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।
गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो ।
छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन् ।
उनले भने, ‘सबै तयारी अन्तिम चरणमा छ, यहाँ मुख्य कुरा भनेको सरसफाई हो हामीले खोलाहरु सफा गरेका छौ । यसको साथै बत्ति, टेन्ट सबैको काम भईरहेको छ ।
२ दशकभन्दा बढि समय भयो यहाँ छठ मनाउँन थालिएको, यहाँ घाटमा धेरै नै फोहोर छ, पशुपति विकास कोषले हेर्छ तर जति हुनुपर्ने त्यही भएको छैन् । यहाँ ४ देखि ५ लाख मानिस आउँने गर्छन्, वर्तालु ५ सयभन्दा बढि हुदैँन् ।’
गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी छ ।
पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् ।तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ ।
यस वर्ष मंसिर ३ गते आइतबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । त्यस दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने जनाइएको छ ।
यस्तै, मंसिर ४ गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।