काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यूएई भ्रमण अभूतपूर्वरूपमा सफल भएको दाबी गरेका छन् । उनले सम्मेलन अवधिभर ३-४ दिनसम्म सबैले नेपालकै चर्चा र प्रशंसा गरेको बताए ।
दुबईबाट फर्केर त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमणको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले पहिले कहिल्यै नभएको अनुभव नेपालले हासिल गरेको बताए । नेपालले पहिलोपटक बेग्लै पेभिलियन पाएको र यसको अधिकतम सदूपयोग गरेको उनले उल्लेख गरे ।
‘अहिलेसम्म कोपको कुनै पनि सम्मेलनमा नेपालको अलग्गै पेभिलियन थिएन रहेछ । पहिलोपटक हामीले पेभिलियन प्राप्त गरेर हस्तक्षेपकारी भूमिका निभाउन सफल भयौं,’ प्रचण्डले भने ।
उनले आफ्नो अध्यक्षतामा भएको राउन्ड टेबलमा सबैले नेपालको प्रशंसा गर्न वाध्य भएको बताए । यो सम्मेलनबाट नेपालले पहाडी राष्ट्रहरुको नेतृत्व लिएको सन्देश गएको पनि उनको दावी छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । पत्रकार सम्मेलनमा प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारेका हुन् ।
प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला फिँजाउनका लागि मात्रै भएको बताए । उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्ला मात्रै हो,सत्यता छैन ।’
प्रधानमन्त्री प्रचण्डले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गरे । उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए ।
प्रचण्डले भने, ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ ।
उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’ प्रधानमन्त्री प्रचण्डले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताए ।