काठमाण्डाै । न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखरा टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा टाइगर ग्रुपले न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१६ जिते पनि त्यसपछि लगातार तेस्रो सेट हार्याे । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ ले जित्यो । अब टाइगर ग्रुपले उपाधिका लागि फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा अहिले त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश खेल्दैछन् । यो खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।
२० माघ २०८१, शनिवार ०७:५० मा प्रकाशित