काठमाडौं:- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्रपछिका राजनीतिक, सामाजिक तथा भौतिक विकासलाई अवमूल्यन गर्ने प्रयास भइरहेको दाबी गरे।
उनले गणतन्त्रपछि भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई समेत गलत ढङ्गले प्रस्तुत गर्ने काम भइरहेको बताए। “गणतन्त्रपछि विकसित भएका धेरै सकारात्मक पक्षमाथि अत्यन्तै नकारात्मक ढङ्गले झुटा प्रचार गरिएको छ। भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई अपमानित र अवमूल्यन गर्ने प्रयास भइरहेको छ,” उनले भने।
प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई केवल श्रद्धाञ्जली दिने अवसरका रूपमा नभई गणतन्त्रका उपलब्धि र पुष्पलालका विचारअनुसार भएका परिवर्तनको रक्षा गर्ने संकल्पको दिनका रूपमा लिनुपर्ने बताए।
उनले मुलुकमा प्रतिगामी शक्तिहरूले परिवर्तनमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे।
यस्तै, उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचना पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन तथा अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।