च्याउ खोज्न शुक्लाफाँटा निकुञ्ज पुगेका १४ महिला सकुशल सम्पर्कमा

bmn.news

कैलाली:- च्याउ खोज्न जाने क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला सकुशल सम्पर्कमा आएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सबै महिला सकुशल भेटिएको जानकारी दिए। उनका अनुसार उनीहरू समूहमा नै रहेका थिए।

आइतबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नफर्किएपछि परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले बिहानैदेखि उनीहरूको खोजी थालेको थियो।

खोजीका क्रममा उनीहरू आफैं बाटो पछ्याउँदै सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताए। “सबैजना समूहमा नै हुनुहुन्थ्यो। बेलुकी पानी परेपछि बाटो अलमलिनुभएको रहेछ,” उनले भने।

जंगल प्रवेश गरेका १४ जनामध्ये कसैले पनि मोबाइल फोन नलगेका कारण उनीहरूसँग सम्पर्क हुन सकेको थिएन। खोजीका क्रममा प्रहरीले ड्रोनसमेत प्रयोग गरेको थियो। जिल्ला सुरक्षा समितिले आवश्यक परे हेलिकप्टर प्रयोग गर्ने तयारीसमेत गरेको थियो।

महिलाहरू भेटिएपछि उनीहरूलाई आगामी दिनमा अनुमति बिना निकुञ्जभित्र यसरी प्रवेश नगर्न सम्झाइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए।

प्रतिक्रिया