अर्घाखाँचीमा खुल्यो ‘बाँदर हेरालु’को जागिर, तलब १२ हजार ५ सय

bmn.news

अर्घाखाँची:- अर्घाखाँचीमा बाँदरको उपद्रोका कारण कृषि बाली संरक्षणमा समस्या बढेपछि डिभिजन वन कार्यालयले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। जिल्लाका बाँदरबाट अत्यधिक प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो।

कार्यालयका अनुसार प्रारम्भिक चरणमा २० जना बाँदर हेरालु नियुक्त गरिनेछ। आवश्यकता र कामको चापअनुसार यो संख्या थपघट हुन सक्ने जनाइएको छ।

बाँदर हेरालु पदका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ। उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेको अनुभव भएका व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ। छनोट भएका हेरालुले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्।

नियुक्त भएका हेरालुहरूको मुख्य जिम्मेवारी बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै जानकारी गराउने र बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखेर वडा तथा वन कार्यालयमा प्रतिवेदन बुझाउने हुनेछ।

बाँदरलाई कुनै किसिमको क्षति नपुर्‍याई वातावरणमैत्री उपाय अपनाउँदै खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने कामलाई हेरालुको प्रमुख जिम्मेवारी बनाइएको छ।


प्रतिक्रिया