रास्वपा मन्थली नगरको प्रथम अधिवेशन सम्पन्न, प्रविण खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन

bmn.news

मन्थली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्थली नगर तदर्थ समितिद्वारा आयोजित प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नगर कार्यसमिति चयन गर्दै पार्टी संगठनलाई थप सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।

अधिवेशनबाट युवा, सक्रिय तथा जनतामाझ लोकप्रिय छवि निर्माण गर्न सफल प्रविण खड्का नगर सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आउनुभएका खड्काको नेतृत्वमा मन्थली नगरमा पार्टी संगठन थप मजबुत र प्रभावकारी बन्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

त्यसैगरी बुद्धबहादुर खत्री उपसभापति, दिव्या ढुंगेल सचिव तथा सुधा रिजाल सहसचिव पदमा निर्वाचित हुनुभएको छ। सदस्यहरूमा अनुषा खत्री, कुमार सोडारी, सीता तामाङ, दामोदर पाण्डे, राजकुमार पुरी, सिताराम के।सी।, कर्म लामा, श्रीकृष्ण चौहान तथा बुद्धबहादुर भुजेल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित सभापति खड्काले आफूलाई दिएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै पार्टीको सिद्धान्त, मूल्य र जनताको अपेक्षालाई केन्द्रमा राखेर इमानदार, पारदर्शी र जनउत्तरदायी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मन्थली नगरको समग्र विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्दै परिणाममुखी नेतृत्व प्रदान गर्ने अठोटसमेत व्यक्त गर्नुभयो।

अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले नयाँ नेतृत्वले नगरमा रास्वपाको संगठन विस्तार, जनविश्वास अभिवृद्धि तथा सकारात्मक राजनीतिक संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा नवनिर्वाचित पदाधिकारीहरूले आफूहरूमाथि विश्वास गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया