कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

bmn.news

सुर्खेत:- कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको हो।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आग्रह गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक दल वा प्रदेशसभा सदस्यले आगामी साउन १२ गते साँझ ५ बजेसम्म आफ्नो दाबी पेश गर्नुपर्नेछ।

यसअघि असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। राजनीतिक समीकरणमा आएको परिवर्तनपछि मुख्यमन्त्री कँडेलले राजीनामा दिएका हुन्।

कँडेल नेतृत्वको सरकारको अन्त्यसँगै अब कर्णाली प्रदेशमा नयाँ सरकार कुन दलको नेतृत्वमा बन्ने भन्ने विषयमा राजनीतिक चासो बढेको छ। दलहरूबीच नयाँ सत्ता समीकरणका लागि छलफल तीव्र बनेको छ।

प्रतिक्रिया