अमेरिका:- नेपाली मूलका वरिष्ठ कराते प्रशिक्षक सिहान शान्त थोकरले अमेरिकामा करातेको प्रतिष्ठित सातौँ डान प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उनी अमेरिकामा यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्।
अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा सम्पन्न यूएसए नेसनल कराते–डो च्याम्पियनसिपका अवसरमा थोकरलाई यो सम्मान प्रदान गरिएको हो। कराते क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि पुर्याएको योगदान, प्रशिक्षण, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय स्तरमा गरेको कामको उच्च मूल्याङ्कन गर्दै यूएसए नेसनल कराते–डो फेडेरेसनले उनलाई सातौँ डान प्रदान गरेको हो।
थोकरले सन् १९९७ को नोभेम्बरमा नेपाल सोतोकान कराते एसोसिएसन तथा सोही वर्षको डिसेम्बरमा जापान कराते एसोसिएसनबाट पहिलो डान प्राप्त गरेका थिए। त्यसपछि उनले २००० जापान कराते एसोसिएसनबाट दोस्रो डान, सन् २००३ को सेप्टेम्बरमा केडब्लुएच जापानबाट तेस्रो डान, सन् २००५ को अक्टोबरमा फुनाकोशी सोतोकान कराते एसोसिएसन अमेरिका (एफएसकेए) बाट चौथो डान प्राप्त गरे। त्यसपश्चात् इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसन (आईएमएए) यूएसएबाट क्रमशः सन् २००८ मा चौथो डान, सन् २०१३ मा पाँचौँ डान र सन् २०१६ मा छैटौँ डान हासिल गरेका थिए।
सातौँ डान प्राप्त गरेपछि थोकरले यो सम्मान आफ्नो लामो साधना, निरन्तर मेहनत र समर्पणको परिणाम भएको बताए। उनले यो उपलब्धि व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण नेपाली कराते समुदायका लागि गौरवको विषय भएको उल्लेख गरे।
दोलखाको चरिकोटबाट कराते यात्रा सुरु गरेका
थोकर उच्च शिक्षाका लागि काठमाडौं आएपछि पशुपति वनकाली डोजोमा औपचारिक प्रशिक्षणमा
आबद्ध भएका थिए। कराते गुरुहरू भीम लामा र मानवबहादुर तामाङको मार्गदर्शनमा उनले
यस खेललाई जीवनको लक्ष्य बनाउँदै अघि बढे।
ब्ल्याक बेल्ट हासिल गरेपछि प्रशिक्षकका रूपमा
सक्रिय भएका थोकरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन
गर्दै स्वर्ण र कांस्य पदकसमेत जितेका थिए। पछि उनले जापानी प्रशिक्षकहरूसँग थप
प्रशिक्षण लिँदै शोतोकान करातेमा गहिरो अध्ययन गरे।
करिब ४५ वर्षभन्दा लामो कराते यात्रामा थोकरले
पहिलोदेखि छैटौँ डानसम्म विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गर्दै सातौँ
डानसम्मको यात्रा तय गरेका हुन्। यसअघि उनले छैटौँ डान प्राप्त गरेका थिए।
करातेमा ब्ल्याक बेल्टपछिका उच्च तहलाई ‘डान’
भनिन्छ। सामान्यतया पहिलोदेखि दशौँ डानसम्मको व्यवस्था रहेको हुन्छ। सातौँ डानलाई
अनुभवी गुरु वा मास्टर तहको मान्यता दिइन्छ, जसका लागि लामो अभ्याससँगै प्रशिक्षण अनुभव, कराते दर्शनको ज्ञान र
खेल विकासमा महत्वपूर्ण योगदान आवश्यक हुन्छ।
थोकर सन् २००७ देखि अमेरिकाको न्युयोर्कमा कराते विद्यालय सञ्चालन गर्दै आएका छन्। अमेरिकामा कराते विद्यालय स्थापना गर्ने पहिलो नेपालीमध्ये एकका रूपमा चिनिएका उनले प्रतियोगिता आयोजना, खेलाडी उत्पादन र कराते प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
हाल उनी आईएमए निहोन कराते–डो यूएसएका अध्यक्ष तथा मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।
सिहान शान्त थोकरको सातौँ डान प्राप्ति नेपाली
कराते इतिहासकै एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको यो सफलताले
विश्वस्तरमा नेपाली करातेको पहिचान र प्रतिष्ठालाई थप उचाइ दिएको विश्वास गरिएको
छ।