करणवीर मेहरा बने ‘बिग बोस–१८’का विजेता

काठमाडौं । अभिनेता करणवीर मेहरा रियलिटी शो ‘बिग बोस–१८’को विजेता बनेका छन् । १०५ दिनदेखि कलर्स टिभीमा ‘बिग बोस’ प्रशारण भइरहेको थियो ।

दर्शकको भोटका आधारमा करणवीर मेहरालाई शोका होस्ट सलमान खानले विजेता घोषणा गरेका थिए । उनले विवियन डिसेना र रजत दलाललाई पराजित गर्दै उपाधि जितेका हुन् । शोको फस्ट रनरअप विवियन डिसेना भए । सेकेन्ड रनरअप रजत दलाल भएको बीबीसीले जनाएको छ । शोको ट्रफीसँगै करणवीरले ५० लाख भारु पुरस्कार पनि जितेका छन् ।

जितपछि करणवीर मेहराले भने, “हामी जुन क्षणको प्रतिक्षा गरिरहेका थियौं, त्यो क्षण अन्ततः आइपुगेको छ । जनताका प्रियले जितेका छन् ।” बिग बोसको जितसँगै करणवीर मेहरालाई उनका फ्यानहरुले बधाई दिइरहेका छन् । तर, सामाजिक सञ्जालमा केही मानिसले उनको जीतको विरोध पनि गरिरहेका छन् ।

बिग बोसको घरमा करणवीरको अनुभव मिश्रित रहेको छ । उनले बिग बोसको घरमा केही राम्रो साथी पनि बनाए र केही नराम्रो अनुभव पनि गरे । विवियन डिसेनाजस्ता साथी प्रतियोगीहरूसँग पनि उनको कडा झगडा भएको थियो ।

अभिनेता करणवीर मेहरा विगत २० वर्षदेखि फिल्म उद्योगसँग जोडिएका छन् । उनले थुप्रै टिभी शोमा भाग लिइसकेका छन् । करणवीरले सन् २००५ मा रंगमञ्चमा प्रवेश गर्नुअघि टिभीमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया