सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको हाे : प्रधानमन्त्री ओली

काठमाण्डाै  प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभई काम गर्नका लागि हुनुपर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको २५औं स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले कतिपयले अहिले अध्यादेशको विरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानूनको रूप लिइसक्ने बताउनुभयो । उहाँले दुई महिनासम्म देशका कामहरू रोकेर राख्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ऊर्जाको प्रयोग थप बढाउनुपर्नेमा जोड दिनुभएको छ । पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले जलविद्युत् आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभएको छ । स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भइरहेकाले ऊर्जा खपतको चिन्ता लिइरहनु नपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया