एनएसएल २०२५ : दुई अपराजित टोली चितवन र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज दुई अपराजित टोली एफसी चितवन र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । जारी लिगमा दुई खेल जितेको एक मात्र टोली चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने साविक विजेता ललितपुर ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

दुवै टोली तीन खेलसम्म अपराजित छन् र त्यो लयलाई कायम राख्दै शीर्ष स्थानको होडमा छन् । चितवनलाई आजको खेल जित्न सके शीर्ष चारको यात्रा अझ बलियो हुनेछ । यदी चितवनलाई पराजित गरेमा ललितपुर शीर्ष स्थानमा पुग्नेछ ।

पोखरा र बुटवल लुम्बिनीलाई पराजित गर्दै सानदार सुरुवात गरेको चितवनले अन्तिम समयमा गोल खाँदा झापा एफसीसँग अंक बाँडेको थियो । उता ललितपुरले पहिलो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेल्दै लिग सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरालाई हराएको ललितपुरले तेस्रो खेलमा धनगढी एफसीसँग बराबरी खेलेको थियो ।

दुई अपराजित र सन्तुलित टोलीबीच आज हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । यस्तै आजको खेल जितेर चितवन अग्रता फराकिलो बनाउन चाहन्छ भने ललितपुरलाई खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

प्रतिक्रिया