बर्ड फ्लूको कहर ; एक अर्बभन्दा बढी क्षति, ६ लाख भन्दा बढी कुखुरा नष्ट, किसानलाई ५२ करोड राहत दिँदै सरकार

bmn.news

काठमाडौं:- तीन महिनादेखि फैलिएको बर्ड फ्लूका कारण देशभरका कुखुरा किसानले एक अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति व्यहोर्नुपरेको छ। रोग नियन्त्रणका क्रममा ठूलो संख्यामा कुखुरा, अण्डा र दाना नष्ट गरिएपछि प्रभावित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया सरकारले तीव्र बनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्ड फ्लू प्रभावित किसानका लागि तत्काल ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने तयारी गरेको छ। अर्थ मन्त्रालयले किसानलाई राहत दिन ५० करोड रुपैयाँ रकमान्तर स्वीकृत गरेपछि राहत वितरणको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीका अनुसार प्रभावित किसानलाई छिट्टै राहत उपलब्ध गराउने तयारी भइरहेको छ। सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्यका आधारमा ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ।

नेपालमा यसपटक बर्ड फ्लू पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। त्यसपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखिएको थियो।

पशु सेवा विभागका अनुसार हालसम्म बर्ड फ्लू नियन्त्रणका क्रममा ६ लाख ६ हजार ७५८ वटा कुखुरा, ९ लाख ९४ हजार ६४९ वटा अण्डा र १ लाख ९५ हजार ५९५ केजी दाना नष्ट गरिएको छ।

विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार राहत वितरणका लागि किसानबाट नष्ट भएको विवरण, राहत निवेदन, खरिद बिल तथा प्रयोगशाला रिपोर्टलगायतका आवश्यक प्रमाण संकलन भइरहेको छ। हालसम्म ११ जिल्लाका करिब १०० किसानले राहतका लागि आवश्यक कागजात बुझाइसकेका छन्।

सरकारले पहिलो चरणमा संक्रमण बढी प्रभावित क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर राहत वितरण गर्ने जनाएको छ। राहत रकम किसानको बैंक खातामै सिधै जम्मा गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया