काठमाडौँ:- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियाली राजदूत साइमन अर्न्स्टबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
राजदूत अर्न्स्टले मन्त्री यादवको सफल कार्यकालको शुभकामना दिँदै नेपालसँग सहकार्यलाई निरन्तरता दिन अष्ट्रेलिया इच्छुक रहेको बताए। भेटका क्रममा दुई देशबीचको आयात–निर्यात अवस्था, व्यापार सन्तुलन र आर्थिक सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो।
मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको व्यापारिक तथा आर्थिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेकी छन्।
३१ असार २०८३, मङ्गलबार ०३:५१ मा प्रकाशित