काठमाडौं:- तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ।
फाउण्डेसनले ‘नेपालको कम्युनिस्ट
आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठीसँगै मदन भण्डारी
राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम पनि तय गरेको छ।
पूर्वराष्ट्रपति
विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा वर्तमान राजनीतिक
परिदृश्यका कारण विशेष चासो व्यक्त गरिएको छ। कार्यक्रममा नेकपा (एमाले) का
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,
पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र
झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव एउटै
मञ्चमा सहभागी हुने कार्यक्रम रहेको छ।
पछिल्लो राजनीतिक
घटनाक्रमका बीच आयोजना हुन लागेको यस कार्यक्रममा शीर्ष नेताहरूको एकै मञ्चमा
उपस्थिति राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ।
विचार गोष्ठीमा सहभागी
शीर्ष नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलन, जननेता मदन भण्डारीको राजनीतिक योगदान तथा समसामयिक
राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको फाउण्डेसनले जनाएको छ।
जननेता मदन भण्डारीको
जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। तत्कालीन नेकपा (एमाले)का महासचिव रहेका भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा ‘जनताको बहुदलीय
जनवादको राजनीतिक सिद्धान्त अघि सारेका थिए, जसलाई एमालेको मार्गदर्शक विचारका रूपमा लिइन्छ।
विसं २०५० जेठ ३ गते
चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र संगठन विभाग प्रमुख
जीवराज आश्रितको निधन भएको थियो। उक्त घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने माग
आज पनि विभिन्न राजनीतिक वृत्तबाट उठ्दै आएको छ। नेपाली राजनीतिमा उनको योगदानका
कारण प्रत्येक वर्ष असार १४ गते उनको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइन्छ।