फेसबुक स्टाटसको भरमा होइन, तथ्यका आधारमा निर्णय गरौँ’ ; मनिष झा

bmn.news

काठमाडौँ:  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद मनिष झाले संसदीय समितिमा उठाइने विषयहरू तथ्य, प्रमाण र आधिकारिक तथ्याङ्कमा आधारित हुनुपर्ने बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा उनले सामाजिक सञ्जालमा आएका टिप्पणी वा अपुष्ट सूचनाका आधारमा निर्णय लिन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।

उनले कुनै विषयमा प्रश्न उठ्नेबित्तिकै सम्बन्धित पक्षलाई स्पष्टीकरण दिने अवसर नै नदिई छानबिन समिति गठन गर्न खोज्नु संसदीय अभ्यासका दृष्टिले उपयुक्त नहुने बताए। आरोप लागेका व्यक्ति वा निकायको धारणा नसुनी सीधै छानबिन समिति गठन गरिनु बैठकको औचित्यसँग मेल नखाने उनको भनाइ थियो।

बजेट निर्माणलगायत विभिन्न विषयमा विवाद उठ्दा सम्बन्धित मन्त्री वा निकायको जवाफ सुन्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। समितिमा बोल्दै उनले हचुवाका भरमा निर्णय गर्नुको सट्टा प्रमाण संकलन गरी तथ्यमा आधारित बहस गर्नुपर्ने धारणा राखे।

सांसद झाले रसुवा नाकाबाट आयात भएका करिब ३० वटा सवारीसाधनको भन्सार मूल्याङ्कनमा वृद्धि भएको उल्लेख गर्दै त्यसबाट राज्यको राजस्व बढे पनि व्यवसायीहरू आर्थिक रूपमा प्रभावित भएको बताए। त्यस्तै, कोरोला नाकाबाट भित्रिएका सवारीसाधनमा समेत भन्सार दर बढेको दाबी उनले गरे।

उनले संसदीय समितिमा तथ्याङ्कमाथि आधारित छलफलको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित निकायबाट आधिकारिक विवरण मागेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताए।

भन्सार कार्यालय परिसरमा लामो समयदेखि रोकिएका सवारीसाधन र अन्य सामग्रीका कारण ती क्षेत्र व्यवस्थापनविहीन बन्दै गएको उनको भनाइ थियो। यस्ता वस्तुको समयमै व्यवस्थापन गरी भन्सार प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया