झापा:- काँकडभिट्टा–मेची भन्सार क्षेत्रमा हुने गरेको भनिएको तस्करीबारे स्थानीय महिलाले गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा अधिकारीहरूमाथि अनुसन्धान थालेका छन्।
सीमा अनुगमनका क्रममा स्थानीय बन्दना मेचेले साना व्यापारीलाई दुःख दिने तर ठूला तस्करीलाई संरक्षण गर्ने गरिएको आरोप लगाउँदै गृहमन्त्रीसमक्ष गुनासो गरेकी थिइन्। उनले केही सुरक्षाकर्मीले रकम असुल्ने र सेटिङमा सामान भित्र्याउने गरेको दाबीसमेत गरिन्।
गुनासोपछि गृहमन्त्री गुरुङले मेची भन्सार कार्यालयमा सुरक्षा निकायका अधिकारीहरूसँग बन्द कोठामा छलफल गर्दै जानकारी लिएका थिए। स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र सशस्त्र प्रहरीका डीएसपी विकास थापासहित केही सुरक्षाकर्मीका मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिई फरेन्सिक परीक्षण गर्न निर्देशन दिइएको छ।
मोबाइलमा रहेका कल विवरण, सन्देश र सम्भावित सम्पर्कबारे अनुसन्धान गरिने बताइएको छ। गृहमन्त्री गुरुङले तस्करीबाट केही व्यक्तिले लाभ लिने र सर्वसाधारणले दुःख पाउने अवस्था अन्त्य गर्ने बताएका छन्।
यद्यपि डीएसपी चापागाईंले आफ्नो मोबाइल नियन्त्रणमा लिइएको कुरा अस्वीकार गरेका छन् भने प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेले घटनाबारे आफू जानकार नरहेको बताएका छन्।
सीमा क्षेत्रमा कपडा, खाद्यान्न, मललगायतका वस्तुको अवैध ओसारपसार हुने गरेको आरोप लाग्दै आएको छ। गृहमन्त्रीको पछिल्लो अनुगमनपछि संगठित तस्करीमाथि निगरानी बढाइएको सुरक्षा स्रोतले जनाएको छ।