बारामा सामाजिक सञ्जालमा अपमानजनक भिडियो फैलिएपछि १३ वर्षीया किशोरी मृत फेला, सात जनाविरुद्ध जाहेरी

bmn.news

काठमाडौं:- बाराको कलैया उपमहानगरपालिका–२१ की १३ वर्षीया किशोरी सरिया खातुन आफ्नै घरमा मृत फेला परेपछि घटनाले गम्भीर चिन्ता उत्पन्न गरेको छ। परिवारले सामाजिक सञ्जालमा फैलिएको अपमानजनक भिडियोका कारण उनी मानसिक तनावमा परेकाले यस्तो घटना भएको आरोप लगाएको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

परिवारका अनुसार १५ असारमा गाउँकै केही युवाले किशोरीलाई बाँसको झाडी नजिक रोकेर दुर्व्यवहार गरेका थिए। घटनास्थलमा खिचिएको भिडियोमा उनीमाथि गालीगलौज, अपमानजनक व्यवहार तथा कुटपिट गरिएको देखिन्छ। भिडियोपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र कुँवरका अनुसार भिडियो सार्वजनिक भएको भोलिपल्ट किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको कारणबारे निष्कर्षमा पुग्न सबै पक्षबाट अनुसन्धान भइरहेको उनले बताए।

घटनापछि पीडित परिवारले भिडियोमा देखिएका सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन तथा बलात्कार उद्योगसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दिएको छ। जाहेरीका आधारमा प्रहरीले १७ असारमा एक युवकलाई पक्राउ गरेको छ भने अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक रूपमा भिडियो सार्वजनिक हुनु र त्यसको भोलिपल्ट किशोरी मृत फेला पर्नुबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण र कानुनी जिम्मेवारीबारे विस्तृत छानबिनपछि मात्रै आधिकारिक निष्कर्ष सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यस घटनाले सामाजिक सञ्जालमा हुने सार्वजनिक अपमान, साइबर दुर्व्यवहार र किशोरकिशोरीको मानसिक स्वास्थ्यप्रति समाज र सरोकारवाला निकायको संवेदनशीलता अझ बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

 

प्रतिक्रिया