वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाण्डाै  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेको पाँचखाल गाउँपालिका–५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखाको शहीद लखन गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–८ घर भएका २४ वर्षीय विशाखा पौडेल रहेका छन् ।

सुनिलले सर्बिया पठाइदिने भन्दै १ जनाबाट २२ लाख ३८ हजार, विकाशले जापान पठाइदिने भन्दै २ जनाबाट ३ लाख, सुरेन्द्रले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ९७ लाख ५४ हजार र विशाखाले कुवेत पठाइदिने भन्दै १ जनाबाट १ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया