काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन्।
असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएर असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। ओली नेतृत्वको अहिलेको संघीय सरकारमा कांग्रेस पनि सामेल छ।
एमालेसँग मिलेर सरकार बनाउँदै ओली प्रधानमन्त्री बने पनि नीतिगत नेतृत्व भने कांग्रेसले नै गरिरहेको सिटौलाको भनाइ छ।
‘अहिले कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ,’ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौंको क्षेत्रपाटीमा भएको कार्यक्रममा सिटौलाले भने।
सिटौलाका अनुसार राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्री ओलीले गरे पनि नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेसले नै गरेको छ।