काठमाण्डौ । पाँचौ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज महिलातर्फका खेलहरु भएका छन् । आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमन्ड भलिबल क्लब विजयी भए । तेश्रो खेल भने रात परेपछि चल्दाचल्दै रोकिएको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ को सेटमा हरायो । ट्राभल इन्क्वारीले पहिलो सेट २५–२१ र दोश्रो सेट २५–२० ले जित्यो । यस्तै एपीएफले तेश्रो सेट २५–१९, चौथो सेट २५–२० र पाँचौ सेट १५–७ ले जित्यो ।
आजै भएको दोश्रो खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२ र तेश्रो सेट २५–२४ ले जितेको थियो । यस्तै न्यू डायमन्डले दोश्रो सेट २३–२५, चौथो सेट २५–१८ र पाँचौं सेट १५–१० ले जित्यो ।
आजको तेस्रो खेलमा टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लब खेल्दा खेल्दै रात परेपछि चौथो र पाँचौ सेट भोलि हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टोली सहभागी छन् । प्रतियोगिता यही १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।