कोशीमा पूर्वमुख्यमन्त्री राईले गरे रोस्ट्रमको माइक फाल्ने प्रयास

bmn.news

काठमाडौं: कोशी प्रदेश सभाको बैठकमा बुधबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता राजेन्द्र राईले प्रदेश सभा रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन अघि बढाउन खोजेपछि राई आक्रोशित बनेका हुन्। माइक फाल्न खोज्दा मर्यादा पालकले उनलाई रोकेका थिए।


प्रतिपक्षी दलहरूले मंगलबारको बैठकमै नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न समय नदिई पारित गरिएको आरोप लगाउँदै विरोध जनाइरहेका छन्। बुधबार पनि अवरोध जारी रहेपछि सभामुख विष्टले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।



यसअघि मंगलबार बसेको प्रदेशसभा बैठकमा विपक्षीको अवरोधका कारण सरकारले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न सकेको थिएन। विवाद मुख्य रूपमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर केन्द्रित भएको छ।


प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गतको छैटौँ बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। झण्डै एक घण्टा लामो जवाफपछि सभामुख विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। सदनबाट ‘हुन्छ’ भन्ने आवाज आएपछि उनले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए।


तर, उक्त घोषणापछि नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पूर्वमुख्यमन्त्री राजेन्द्र राईले आपत्ति जनाएका थिए। उनीहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर नै नदिई नीति तथा कार्यक्रम पारित गरिएको भन्दै विरोध जनाएका छन्।


प्रतिक्रिया