दिल्लीमा २७ वर्षपछि भाजपाको बहुमत

काठमाडौं । भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाउने भएको छ । दिल्ली विधानसभा निर्वाचनमा भाजपाले २७ वर्षपछि बहुमत प्राप्त गरेको हो ।

शनिबार साँझ ५.२५ बजे (स्थानीय समय)सम्म भाजपाले दिल्लीका ४३ सिट जितेको छ । भाजपा पाँच सिटमा समेत अगाडि रहेको त्यहाँको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।

दिल्लीमा सरकार बनाउन आवश्यक बहुमतको संख्या ३६ हो । सत्तारूढ आम आदमी पार्टीले २१ सिट जितेको छ । एक सिटमा उसको अग्रता पनि छ । सन् १९९८, २००३ र २००८ को विधानसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले दिल्लीमा बहुमत प्राप्त गरेको थियो । र, सरकार बनाएको थियो ।

२०१३ मा दिल्लीमा कुनै पनि दलले बहुमत प्राप्त गरेनन् । तर, कांग्रेसको समर्थनमा आम आदमी पार्टीले सरकार बनाएको थियो । उक्त सरकार ४९ दिन मात्र टिकेको थियो ।२०१५ मा आम आदमी पार्टीले दिल्लीमा ७० मध्ये ६७ सिट जित्यो । २०२० मा पनि आम आदमी पार्टीले ७० मध्ये ६२ सिट जितेर सत्तामा फर्किएको थियो ।

प्रतिक्रिया