काठमाडौं । नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्य हो दक्षिण कोरिया। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्।
जसरी नेपालीहरूको प्रमुख गन्तव्य कोरिया बनेको छ, त्यसरी नै अध्यागमन कानुन उल्लंघन गरेर फर्किने नेपालीहरू पनि कम छैनन्। विभिन्न प्रलोभनमा परेर दक्षिण कोरिया गएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। इपीएस भाषा परीक्षा पास गरेरै गएकाहरू पनि त्यहाँको कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने गरेका छन्।
दक्षिण कोरिया सरकारले गत साता ९ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले उनीहरूलाई नेपाल फर्काएको हो।
नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक-एक जना रहेको स्रोतले जानकारी दिएको छ। उनीहरूले कस्तो कानुन उल्लंघन गरेको बारेमा भने खुलाइएको छैन।
फर्काइनेमा थापालाई थाइ एयर र बाँकी ८ जनालाई कोरियन एयरको विमानबाट काठमाडौं ल्याइपुर्याएको थियो। दक्षिण कोरियाबाट प्रत्येक साता नेपालीहरू फर्काइने गरेको स्रोतको भनाइ छ। पछिल्लो एक महिनामा कम्तीमा २० जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेको छ।