जसप्रीत बुमराह र नीतीश रेड्डीको नाम मेलबर्न क्रिकेट ग्राउन्डको 'अनर बोर्ड' मा

काठमाण्डाै  भारतीय क्रिकेट टिमका उपकप्तान जसप्रीत बुमराह र अलराउन्डर नीतीश कुमार रेड्डीको नाम 'मेलबर्न क्रिकेट ग्राउन्ड' (एमसीजी) को 'अनर बोर्ड' मा दर्ता भएको छ । भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेबापत दुवै खेलाडीलाई यो सम्मान प्रदान गरिएको हो ।

चौथो टेस्टमा उपकप्तान बुमराहले दोस्रो पारीमा पाँच विकेट लिएका थिए भने नीतीशले पहिलो टेस्ट शतक बनाएका थिए । बुमराहको नाम पाँच विकेट हलको सूचीमा परेको छ भने नीतीशको नाम मेलबर्नमा शतक प्रहार गर्ने खेलाडीको सूचीमा थपिएको छ ।

चौथो टेस्टमा बुमराहले पहिलो पारीमा चार र दोस्रो पारीमा पाँच गरी नौ विकेट लिएका थिए । यस्तै नीतीशले पहिलो पारीमा एक सय १४ रन बनाएका थिए ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट यही डिसेम्बर २६ देखि ३० सम्म भएको थियो । यो खेलमा भारतले एक सय ८४ रनको हार बेहोरेको थियो । योसँगै पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।

शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।

  • १६ पुस २०८१, मंगलबार

प्रतिक्रिया