रावल, पाण्डे र तिम्सेनामाथिको कारबाही फिर्ता हुँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरिएको कारबाही फिर्ता नहुने बताएका छन्।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा केही सदस्यले उनीहरूमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका थिए। तर अध्यक्ष ओलीले भने,‘बरू समय केही लम्बिन सक्छ र कारबाही फिर्ता हुँदैन।’

गत मंसिर १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। पार्टीको संस्थागत निर्णयविरूद्ध धारणा राखेको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।

आइतबारबाट सुरू भएको बैठकमा सदस्यहरूले धारणा राख्नुपूर्व नै उनीहरूलाई कारबाही गर्ने निर्णय पारित गरिएको थियो। निर्णय पारित भए पनि सदस्यहरूले बोल्ने क्रममा उनीहरूलाई कारबाही गर्नु गलत भएको बताएका थिए।

प्रतिक्रिया