रवि–बालेनको कडा नियम: प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने, बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणपछि प्रक्रिया सुरु हुने

bmn.news

चितवन:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको सूचनामा उम्मेदवारका प्रस्तावक तथा समर्थक बनेका महाधिवेशन प्रतिनिधिले कुनै पनि पदमा उम्मेदवारी दिन नपाउने स्पष्ट उल्लेख गरिएको छ।

निर्वाचन कार्यविधिअनुसार पार्टी सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ। त्यस्तै पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले प्रस्तावक र समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा उम्मेदवारी फारममा उल्लेख गर्नुपर्ने जनाएको छ। एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने भए पनि समर्थकका रूपमा भने अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने व्यवस्था गरिएको छ। प्रस्तावक र समर्थक दुवै महाधिवेशन प्रतिनिधि हुनुपर्ने सर्त राखिएको छ।

आयोगले कार्यविधि विपरीत दर्ता गरिएका उम्मेदवारी फारम स्वतः अमान्य हुने चेतावनीसमेत दिएको छ।

यसैबीच उम्मेदवारी दस्तुरसमेत निर्धारण गरिएको छ। सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ, पदाधिकारी पदका उम्मेदवारले ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।

महाधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ। महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद र व्यवस्थापनका केही प्राविधिक विषयका कारण सोमबारका लागि तय गरिएको बन्दसत्र एक दिन पछि सारिएको हो।

बन्दसत्रका लागि मंगलबार बिहान ७ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ। पार्टीका प्रवक्ता मनिष झाले प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा परिचयपत्र छपाइको काम समयमै नसकिएकाले बन्दसत्रको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिए।

उनका अनुसार परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र सुरु गरिनेछ। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधिको विवरण प्रमाणीकरण र परिचयपत्र वितरण प्रक्रियामा कुनै विवाद नआओस् भन्ने उद्देश्यले अतिरिक्त समय लिइएको उनले बताए।

रास्वपाले सातै प्रदेश, समायोजन र प्रवासतर्फका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै स्थानबाट परिचयपत्र वितरणको व्यवस्था मिलाएको जनाएको छ। सोमबार साँझदेखि नै कार्ड वितरण सुरु भए पनि राति छापिएका बाँकी परिचयपत्र मंगलबार बिहानबाट वितरण भइरहेको छ।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन गरिएको रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र भने उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।


प्रतिक्रिया