काठमाण्डाै । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा प्रतिपक्ष दलहरूबीच एकमत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिनुभयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
आजै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद्को अवरोध हटाउने वातावरण बनाउन छलफल भएको थियो । सभामुख घिमिरेले अवरोध हटाउने र संसद् खुलाउने वातावरण बनाउन प्रचण्डसँग आग्रह गर्नुभएको छ ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच पनि छलफल भएको छ । अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा जोड दिनुभएको छ ।
आज दिउँसो तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर बेलुका साढे ५ बजेका लागि सारेकोमा अहिलेसम्म सुरु हुन सकेको छैन ।