काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गर्दै तानासाही शासन चलाएको आरोप लगाएका छन्।
पेरिसडाँडामा बिहीबार स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले भने, ‘यो हदसम्मको निरंङ्कुशता, तानासाहीकरण भएको छ कि यस्तो हर्कले पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार त जान्छ जान्छ तर देश संकटको भुमरीमा पर्दैछ।’
यो कुरा माओवादी प्रवक्ता सापकोटाले एमाले सचिवालय बैठकले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि गरेको कारबाहीप्रति लक्ष्य गर्दै बताएका हुन्।
‘सरकारको नेतृत्व गरेको पार्टी (एमाले) भित्र लोकतन्त्र त करिब समाप्त भयो, एमाले पार्टीमा बहस र छलफल हुन्छ भन्ने मानिसले बुझेका थिए,’ सापकोटाले भने, ‘कुनै व्यापारीबाट दान लिएर पार्टी कार्यालय बनाउने कुरा गलत छ भनेर बोलेबापत भीम रावललाई त पार्टीबाट निस्कासन र विन्द पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बन भएको छ। वास्तवमा मुख थुनेर शासन गर्नेछ।’
पुस २१ देखि केन्द्रीय समिति बैठक बोलाएको एमालेले केन्द्रीय समिति बैठक नआउँदै सचिवालय बैठकबाटै कारबाही गर्नुलाई उनले निरङ्कुशता भनेका छन्।