काठमाण्डाै । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षका पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेका छन् । चालक सुनसरी इनरुवाका अनिल पण्डित फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीप बिहान दुर्घटनामा परेको हो वा गएराति नै खसेको हो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१८ माघ २०८१, बिहिबार ०८:१८ मा प्रकाशित