सर्लाहिको घटना सेलाउन नपाउदै कैलालीमा फेरि एउटा यस्तो घटना घट्यो

bmn.news

कैलाली: सर्लाहीमा पानीमा डुबाएर मोबाइल फोन नष्ट गरिएको घटना सेलाउन नपाउँदै कैलालीको गोदावरीमा अर्को विवादास्पद घटना सार्वजनिक भएको छ। गाईमारेडाँडामा एक स्थानीयको टेम्पु वन कार्यालयका कर्मचारीले भीरबाट खसालेको भिडियो बाहिरिएपछि सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र बहस र आक्रोश देखिएको छ।

वर्षौँको मेहनत, पसिना र संघर्षले जोडेका सम्पत्तिमाथि यसरी बल प्रयोग गरेर क्षति पुर्‍याइएको दृश्यले धेरैलाई स्तब्ध बनाएको छ। दैनिक जीविकोपार्जनको आधार बनेको सवारीसाधनलाई यसरी नष्ट गरिनु कुनै पनि दृष्टिकोणबाट सहज रूपमा स्वीकार्य देखिँदैन।

यदि टेम्पु कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको थियो भने सम्बन्धित कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो। यदि त्यसमा अवैध सामान थियो भने नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकिन्थ्यो। नो(पार्किङ क्षेत्रमा राखिएको थियो भने पनि कानुनी जरिवाना वा अन्य प्रशासनिक कारबाहीका उपायहरू थिए। तर कसैको सम्पत्तिलाई बलपूर्वक भीरबाट खसालेर नष्ट गर्नु गम्भीर प्रश्नको विषय बनेको छ।

वन तथा वातावरण मन्त्रालयले घटनाबारे विवरण माग गरी छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ। अब छानबिनले घटनाको वास्तविकता, आदेश दिने व्यक्ति, संलग्न कर्मचारी र जिम्मेवारी निर्धारण गर्नुपर्नेछ। दोषी देखिएमा कानुनबमोजिम कारबाही हुनु आवश्यक छ।

पीडितले भोगेको आर्थिक र मानसिक क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको दायित्व हो। साथै सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो अधिकारको प्रयोग गर्दा कानुनी सीमा र नागरिकको अधिकारप्रति संवेदनशील हुनुपर्ने सन्देश पनि यो घटनाले दिएको छ।

सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने काम अब सम्बन्धित निकायको प्रमुख जिम्मेवारी बनेको छ। कानून कार्यान्वयनको नाममा कसैको जीविकोपार्जनको आधार नै नष्ट गर्ने कार्य कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।

प्रतिक्रिया