काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन १ गतेदेखि विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने सरकारको निर्णय यथावत् रहने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको भइरहेको विरोधलाई अनावश्यक रूपमा उचालिएको टिप्पणी गरे। उनले भ्याट लागू भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्तामा नपर्ने गरी राहतका उपाय खोजिरहेको बताए।
उनका अनुसार विद्युत् नियमन आयोगमार्फत महसुल दर समायोजन गर्ने तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराइँदै आएको बिजुलीको युनिट सीमा बढाउने विकल्पबारे सरकार छलफलमा रहेको छ।
सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन र राजस्वको दायरा विस्तार गर्ने उद्देश्यले बिजुलीमा भ्याट लगाउने निर्णय गरेको जनाएको छ। तर, उक्त निर्णयप्रति उपभोक्ता तथा व्यवसायी समुदायबाट तीव्र आलोचना भइरहेको छ।