काठमाण्डौ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् ।
गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासङ्घ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।
एरिका गुरुङले स्वर्ण जितेको १०औं सितेरियो इन्टरनेशनल च्याम्पियनशिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एशियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनशिपमा सहभागिता जनाए भने भूटानमा जुलाईमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए ।
उनले आफ्नो क्षमता अनुसारको प्लेटफर्म दिनुपर्नेमा सङ्घले उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
७ चैत २०८१, बिहिबार ०२:३७ मा प्रकाशित