तेह्रथुम : पहाडी जिल्लाका गाउँहरू पछिल्लो समय बढ्दो बसाइँसराइ, घट्दो जन्मदर, रित्तिँदै गएका बस्ती, बढ्दो ज्येष्ठ नागरिक संख्या तथा विपन्न परिवारको आर्थिक संकटजस्ता समस्यासँग जुधिरहेका छन्। यिनै चुनौतीबीच तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि र सामाजिक सुरक्षालाई लक्षित गर्दै नयाँ तथा पृथक कार्यक्रम सञ्चालन गरेको छ।
गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहनस्वरूप ५ हजारदेखि २० हजार रुपैयाँसम्म बचत रकम उपलब्ध गराउने नीति अघि सारेको हो। जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गरी उनीहरूको भविष्यको आर्थिक आधार तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म जोड्ने उद्देश्यले छथर गाउँपालिकाले विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गाउँपालिकाले नवजात शिशुको भविष्य सुरक्षित गर्ने ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’सँगै ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य सेवा, विपन्न परिवारका लागि जनता आवास कार्यक्रम, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना कार्यक्रम तथा खाद्य रोजगारी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार नागरिकको जन्मदेखि वृद्धावस्थासम्मको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याइएको हो। उहाँले सामाजिक सुरक्षालाई दीर्घकालीन र प्रभावकारी बनाउने लक्ष्यका साथ गाउँपालिकाले फरक अभ्यासहरू अघि बढाएको बताउनुभयो।
‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ २०८१ साल भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारेर सुरु गरिएको हो। जन्मिने प्रत्येक बालबालिकाको नाममा बचत गर्ने यो कार्यक्रम स्थानीय तहको तहमा निकै नौलो अभ्यासका रूपमा हेरिएको छ।
अधिकांश स्थानीय तहले जन्मदर्ता, पोषण तथा मातृ–शिशु स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मसँगै बालबालिकाको आर्थिक सुरक्षालाई जोड्ने यस्तो पहल भने कमै देखिन्छ।