काठमाडौं ;- परराष्ट्रमन्त्री शिशिर खनालले कुवेतका विभिन्न जेलमा ६३ जना नेपाली नागरिक रहेको जानकारी दिएका छन्, जसमा सात जना महिला रहेका छन्।
बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कुवेतमा सयौँ नेपाली महिला जेलमा रहेको भनाइ गलत भएको स्पष्ट पारे।
उनका अनुसार हाल कुवेतका जेलहरूमा विभिन्न अभियोगमा ६३ जना नेपाली थुनामा छन्, जसमा सात महिला छन्।
मन्त्री खनालले कुवेतमा घरेलु कामदारका रूपमा गएकी शर्मिला दर्जीलाई नेपाली दूतावासको पहलमा असार १ गते नेपाल फर्काइएको पनि जानकारी दिए। साथै, करिब ७० जना नेपाली महिलाहरू उद्धार प्रक्रियामा रहेर नेपाल फर्कने क्रममा रहेको उनले बताए।
उनले २०७३ साल चैत २० गते संसदीय समितिले खाडी मुलुकमा घरेलु श्रमिक पठाउन रोक लगाउने निर्णय गरेको स्मरण गराउँदै हाल औपचारिक रूपमा घरेलु कामदार पठाउने व्यवस्था बन्द रहेको बताए।
तर, उनले भिजिट भिसा वा अवैध माध्यमबाट कुवेत, साउदी अरब र ओमान जस्ता देशमा घरेलु काममा जाने क्रम भने रोकिएको छैन भन्दै यस विषयलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।