काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल को ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भन्ने अभिव्यक्तिले यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ। मन्त्रीको उक्त भनाइप्रति पूर्वनेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र नेकपा एमालेकी नेतृ तथा पूर्वसांसद शान्ता चौधरी ले फरक–फरक प्रतिक्रिया दिएका छन्।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै ठेकेदारलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएका थिए। त्यसपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म समर्थन र विरोधका टिप्पणीहरू बढिरहेका छन्।
यही विषयमा प्रतिक्रिया दिँदै पूर्वआईजीपी खापुङले मन्त्रीको भनाइलाई शाब्दिक रूपमा नभई कानुन र सुशासनको दृष्टिकोणबाट बुझ्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,कानुन बमोजीमनै त होला नि मन्त्रि ज्यूको आदेश ।
उता एमाले नेतृ शान्ता चौधरीले भने मन्त्रीको अभिव्यक्तिप्रति व्यंग्यात्मक टिप्पणी गरेकी छन्। फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले लेखिन्, “धुवाँ र खरानीको सफलतापछि खुट्टा भाँच्ने अभियान सुरु हुन थालेछ।” उनको उक्त अभिव्यक्तिलाई मन्त्री लम्सालप्रतिको कटाक्षका रूपमा हेरिएको छ।
मन्त्रीको भनाइलाई लिएर समाजमा दुई धार देखिएको छ। एक पक्षले विकास निर्माणका काममा वर्षौंसम्म हुने ढिलासुस्ती रोक्न कडा चेतावनी आवश्यक रहेको तर्क गरिरहेको छ भने अर्को पक्षले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक शब्दावली प्रयोग हुनु उचित नभएको बताइरहेको छ।
पूर्वआईजीपी खापुङको समर्थनजन्य टिप्पणी र शान्ता चौधरीको व्यंग्यात्मक प्रतिक्रियासँगै मन्त्री लम्सालको अभिव्यक्ति थप चर्चाको विषय बनेको छ। यसले विकास निर्माणको जिम्मेवारी, ठेक्का प्रणालीको प्रभावकारिता, सार्वजनिक अभिव्यक्तिको मर्यादा र कानुनी शासनबारे नयाँ बहसलाई जन्म दिएको छ।
मन्त्री लम्सालको अभिव्यक्तिबारे तपाईको प्रतिक्रया के छ ? के ठेकेदारको खुट्टा भाँचिदिनु भन्ने भिव्यक्ति सहि छ त ?