काठमाडौं:- सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।
अभियानको पहिलो चरणमा बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका उनीहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।
लालपुर्जा प्राप्त गरेसँगै लाभग्राहीहरूले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, बैंकिङ सेवा उपयोग गर्न तथा जग्गाधनीका आधारमा उपलब्ध हुने अन्य सरकारी सेवा र सुविधा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको नीतिअनुसार लालपुर्जा वितरण अभियानलाई देशभर प्रभावकारी रूपमा विस्तार गरिने जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व उपलब्ध गराउनु सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनका अनुसार बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियान क्रमशः अन्य जिल्लामा पनि विस्तार गरिनेछ र वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने कार्यलाई तीव्रता दिइनेछ।